Need help dealing with violent or distressing online content? Learn more

अनलाइन सुरक्षित रहन आलोचनात्मक सोचको प्रयोग कसरी गर्ने? (How to use critical thinking to stay safer online)

मानिसहरूले अनलाइनमा सेयर गर्ने केही चीजहरू सत्य र उपयोगी हुन्छन्। अनलाइनमा हुने अन्य केही चीजहरू मिथ्या वा असुरक्षित हुन्छन्। तपाईंले अनलाइनमा देखिने कुराको फरक छुट्याउन सिक्नु भनेको आलोचनात्मक रूपमा सोच्नु हो।

आलोचनात्मक सोच भनेको के हो र मैले यसको प्रयोग किन गर्नुपर्छ?

इन्टरनेट एउटा यस्तो ठाउँ हो जहाँ जो कोहीले पनि तस्बिर, भिडियो, जानकारी र विचारहरू साझा गर्न सक्छन्। यसमा निम्न पर्छन्:

  • तपाईं
  • तपाईंका साथीभाइ र परिवार
  • कम्पनीहरू
  • प्रभावशाली व्यक्तिहरू र सेलिब्रेटीहरू
  • ठग (स्क्यामर) हरु
  • कृत्रिम बुद्धिमत्ता रोबोटहरू (ए.आई. बट्स)।

आलोचनात्मक सोचले अनलाइनमा देखिने कुनै पनि कुरा प्रति विश्वास गर्नु अघि प्रश्नहरू सोध्न र अन्य स्रोतहरू मार्फत परीक्षण गर्न मद्दत गर्छ। तपाईंले अनलाइनमा देख्ने, पढ्ने वा सुन्ने कुराहरू विश्वसनीय छन् कि छैनन् भनेर शिक्षक वा अन्य विश्वसनीय वयस्कलाई सोध्न सक्नुहुन्छ वा अन्य प्रतिष्ठित अनलाइन साइटहरू मार्फत पुष्टि गर्न सक्नुहुन्छ।

निम्न लगायत विभिन्न कारणहरूले गर्दा यस्तो गर्नु महत्त्वपूर्ण हुन्छ:

  • केही जानकारी मिथ्या हुन्छन्
  • केही भिडियो र तस्बिरहरू नक्कली हुन्छन्
  • केही मानिसहरूले तपाईंलाई नियन्त्रणमा राख्न/छल गर्न/धोका दिन पोस्ट र कमेन्टहरू सेयर गर्छन्
  • केही मानिसहरूले तपाईंको पैसा खर्च गराउनको लागि पोस्ट र कमेन्टहरू सेयर गर्छन्। 

अल्गोरिदम भनेको के हो र यसले मैले हेर्ने कुरालाई कसरी प्रभाव पार्छ?

अल्गोरिदम भनेको एउटा कम्प्युटर प्रोग्राम हो जसले तपाईंलाई के देखाउने भन्ने कुराको छनौट गर्छ। धेरै एपहरूले तपाईंलाई लामो समयसम्म अनलाइन राख्न अल्गोरिदम प्रयोग गर्छन्। जब तपाईं लामो समयसम्म अनलाइन बस्नुहुन्छ, तपाईंले धेरै विज्ञापनहरू हेर्नुहुन्छ। जब तपाईंले धेरै विज्ञापनहरू हेर्नुहुन्छ, एपले धेरै पैसा कमाउँछ।

अल्गोरिदमको मतलब तपाईंले प्रायः एउटै प्रकारको सामग्री बारम्बार देख्नुहुन्छ। तपाईंले फरक विचार वा दृष्टिकोणहरू नदेख्न पनि सक्नुहुन्छ। यसलाई कहिलेकाहीं इको चेम्बर पनि भनिन्छ।

तपाईंले आलोचनात्मक सोच प्रयोग गरेर इको चेम्बर पत्ता लगाउन सक्नुहुन्छ र तपाईं कहिले त्यसमा फस्नुहुन्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। आलोचनात्मक सोच एउटा महत्त्वपूर्ण सीप हो र यसले तपाईंलाई अनलाइन हुँदा सुरक्षित राख्न मद्दत गर्न सक्छ। 

अनलाइनमा के लाई विश्वास गर्ने भन्ने कुरा पत्ता लगाउने सुझावहरू

तपाईंले अनलाइन देख्नुहुने कुनै कुरा जोखिमपूर्ण छ वा विश्वास गर्न लायक छैन भनेर बताउन सक्ने सावधानीका संकेतहरूका केही उदाहरणहरू यहाँ दिइएका छन्:

  • भावनात्मक, नाटकीय शीर्षकहरू, लगायत सबै ठुलो अक्षरहरूमा लेख्ने - यी सबै प्रायः तपाईंको ध्यान खिच्न वा तपाईंलाई क्लिक गर्न लगाउन प्रयोग गरिन्छ।
  • ठूला ठूला वाचाहरू जुन सत्य हुन भन्ने कुरामा विश्वास गर्नै गाह्रो - उदाहरणका लागि, केही चीज गर्ने बित्तिकै ठूलो रकम जित्ने सन्देशहरू, वा एउटा चक्की वा वस्तुले सबै कुरा ठीक गर्नेछ भन्ने सन्देशहरू। यी प्रायः तपाईंलाई क्लिक गर्न वा केहि चीज किन्न उत्साहित बनाउन प्रयोग गरिन्छ।
  • जरुरी कुरा जस्तो देखाउने - ठगहरूले 'अहिले नै कदम चाल्नुहोस्' वा 'यो छिटो गरिहाल्नुहोस्' जस्ता सन्देशहरू प्रयोग गर्छन्। उनीहरू तपाईंलाई हतारमा गलत निर्णय लिन लगाउँन चाहन्छन्।
  • भनिएको कुरालाई पुष्टि गर्ने कुनै प्रमाण हुँदैन - वास्तविक तथ्यहरूलाई सरकारी वेबसाइटहरू र अनुसन्धान संस्थाहरू जस्ता विश्वसनीय स्रोतहरू मार्फत पुष्टि गर्न सकिन्छ।
  • तस्बिर वा भिडियोहरू सम्पादन गरिएको वा नक्कली जस्तो देखिने - उदाहरणका लागि, अनुहारहरू धेरै चम्किलो देखिने, वा कुनै व्यक्तिले अनपेक्षित कुरा भनेको वा गरेको देखाउने।
  • शंकास्पद इमेल ठेगाना, खाताका नाम वा लिङ्कहरू - यदि सन्देश वा पोस्टले पैसा वा तपाईंको पासवर्ड वा तपाईंको घरको ठेगाना जस्ता व्यक्तिगत जानकारी मागिरहेको छ भने सावधान रहनुहोस्।

अनलाइन सुरक्षित रहन यी सरल चरणहरू अपनाउनुहोस्

यो ३-चरण विधिले तपाईंले पढिरहनुभएको वा हेरिरहनुभएको कुरा जोखिमयुक्त छ/छैन पत्ता लगाउन मद्दत गर्न सक्छ।

निम्न कार्य गर्नु अघि रोक्नुहोस्:

  • लिङ्कमा क्लिक गर्नु अघि
  • पोस्ट सेयर गर्नु अघि
  • सन्देशको जवाफ दिनु अघि
  • व्यक्तिगत जानकारी पठाउनु अघि।

रोकिँदा तपाईंलाई सोच्ने समय मिल्छ।

 केहि असुरक्षित छ कि भनेर बुझ्न आफैलाई प्रश्नहरू सोध्नुहोस्।

  • के त्यहाँ कुनै सावधान हुनु पर्ने संकेतहरू छन् जुन विश्वास गर्न सकिँदैन?
  • यो कसले बनायो वा सेयर गर्‍यो? के मैले उनीहरूलाई विश्वास गर्न सक्छु?
  • के मैले त्यो व्यक्ति वा व्यवसायलाई चिन्छु?
  • उनीहरू के चाहन्छन्? के उनीहरू मलाई केहि बेच्न खोजिरहेका छन्?
  • के यो विश्वास गर्न लायक छ? अथवा यो धेरै अचम्मलाग्दो छ, वा अतिरञ्जित छ?
  • यसले मलाई कस्तो महसुस गराउँछ? डराएको, उत्साहित, रिसाएको?
  • उनीहरू अब मैले के गरे हुन्थ्यो भन्ने चाहन्छन्? सेयर गरे, किने, क्लिक गरे, प्रतिक्रिया दिए?
  • के यो 'जरुरी' छ? के कसैले मलाई छिटो छिटो कदम चाल्न उचाली रहेको छ?
  • के यी तस्बिर, भिडियो वा दाबीहरू झूटा हुन सक्छन्?
  • के यो सेयर गर्न सुरक्षित छ वा म पछि पछुताउनेछु? के यसले कसैलाई हानि पुर्‍याउन सक्छ, दुरुपयोग हुन सक्छ वा मलाई नराम्रो देखाउन सक्छ?

यदि व्यक्तिले जानकारी कहाँबाट ल्याएको हो भन्ने कुराको व्याख्या गरेको छैन भने यो सत्य हो कि होइन भनेर बुझ्न आधिकारिक वेबसाइटहरू र विश्वसनीय संस्थाहरू मार्फत बुझ्नुहोस्। उदाहरणका लागि:

  • राष्ट्रिय वा राज्य समाचारका वेबसाइटहरू
  • सरकारी वेबसाइटहरू
  • factcheck.org वा Snopes जस्ता तथ्य-जाँच गर्ने साइटहरू।

कुनै तस्बिर वा भिडियो हेरेर मात्र नक्कली हो कि होइन भनेर छुट्याउन गाह्रो हुन सक्छ, तर यी कुराहरू यसको संकेत हुन सक्छन्:

  • अनुहार वा मुखको चाल राम्रो सँग नमिलेको
  • छाला धेरै चिल्लो देखिनु
  • भिडियो बेला बेलामा अड्किनु वा बिग्रेको जस्तो देखिनु।

यदि तपाईंले ए.आई.-सहायता प्राप्त खोजी (AI-assisted search) वा च्याटबट (Chatbot) प्रयोग गर्दै हुनुहुन्छ भने, यसले तपाईंलाई दिने सबै परिणाम सही हुन्छ भनेर नसोच्नुहोस्। यो याद राख्नु महत्त्वपूर्ण छ:

  • गल्ती गरिरहेको भएता पनि ए.आई. ले सही काम गरिरहेको जस्तो सुनिश्चित गराउन सक्छ।
  • ए.आई. ले मानिसहरूद्वारा सिर्जना गरिएका पुस्तकहरू र वेबसाइटहरू जस्ता स्रोतहरूबाट सिक्छ, त्यसैले यसले तपाईंलाई गलत जानकारी, अनुचित राय र असुरक्षित सल्लाह दिन सक्छ।
  • ए.आई. च्याटबट्स र कम्प्यानियन एपहरूले तपाईंलाई रोमाञ्चक वा सहयोगी सम्बन्धमा रहेको महसुस गराउन सक्छन्, तर उनीहरू वास्तविक मानिसहरू होइनन् र उनीहरूले भनेको कुरा तपाईंको लागि उपयुक्त छ/छैन भन्ने कुराको वास्ता गर्दैनन्, त्यसैले उनीहरूले तपाईंलाई हानिकारक र विचलित पार्ने सामग्री तर्फ अग्रसर गराउन सक्छन्।

सहयोग कसरी प्राप्त गर्ने?

यो बुझ्नु महत्त्वपूर्ण छ कि तपाईं जतिसुकै उमेरको भएता पनि, यदि तपाईंलाई अनलाइनमा हानि पुगेको अनुभव छ भने तपाईंले सहयोगको लागि सम्पर्क गर्नुपर्छ - चाहे तपाईं १६ वर्ष मुनिको हुनुहुन्छ र यो उमेर-प्रतिबन्धित सामाजिक सञ्जाल प्लेटफर्म मा घटेको घटना किन नहोस्। यदि तपाईंसँग अझै पनि सामाजिक सञ्जाल खाता छ भने पनि तपाईं समस्यामा पर्नुहुने छैन।

यदि तपाईं अनलाइनमा भएको कुनै कुरा वा कसैको बारेमा अनिश्चित हुनुहुन्छ, वा तपाईं तनावग्रस्त, दबाबग्रस्त, भ्रमित, चिन्तित वा असुरक्षित महसुस गर्नुहुन्छ भने, तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ:

  • यसबारे निम्न विश्वसनीय वयस्कसँग कुरा गर्नुहोस्:
    • आमाबाबु वा काकी
    • हेरचाहकर्ता
    • शिक्षक
    • प्रशिक्षक
    • सामुदायिक सहायताकर्ता।
  • किड्स हेल्पलाइन (Kids Helpline) (५ देखि २५ वर्ष उमेरका लागि) जस्ता परामर्श तथा सहायता सेवा लाई 1800 55 1800 मा वा www.kidshelpline.com.au मा सम्पर्क गर्नुहोस्। यो नि:शुल्क, गोपनीय र २४/७ कुराकानी गर्न उपलब्ध छ।
  • नक्कली तस्बिर वा भिडियोहरू (विशेष गरी यदि यौनजन्य सामग्री भएमा) लगायत हानिकारक वा गैरकानूनी सामग्री तपाईंले देख्नुभएकै प्लेटफर्ममा रिपोर्ट गर्नुहोस्। ईसेफ्टी (eSafety) निर्देशिकामा विभिन्न मञ्च, एप र वेबसाइटहरूमा प्रेषित हानिकारक सामग्री बारे कसरी उजुरी दर्ता गर्ने भन्ने बारे चरणबद्ध सल्लाह उपलब्ध छ।
  • यदि प्लेटफर्मले सहयोग गरेन भने, eSafety.gov.au/report मार्फत ईसेफ्टी (eSafety) लाई रिपोर्ट गर्न सकिन्छ/सकिन्न त्यसको बारेमा बुझ्न कसैको सहयोग लिनुहोस्। ईसेफ्टी (eSafety) ले साइबरबुलिङ, वयस्क साइबर दुर्व्यवहार र तस्विर-आधारित दुर्व्यवहार (देखाइएको व्यक्तिको सहमति बिना अन्तरंग तस्बिरहरू साझा गरिदिने, वा साझा गरिदिने धम्की दिने), का साथै अवैध र प्रतिबन्धित सामग्रीको अनुसन्धान पनि गर्न सक्छ।
  • कमेन्टहरू म्यूट गर्न र तपाईंलाई दबाब वा डराउन दिने जो कोहीको सम्पर्कलाई सीमित गर्न आफ्नो गोपनीयता तथा सुरक्षा सेटिङहरूको प्रयोग गर्नुहोस् - प्लेटफर्ममा रिपोर्ट गरेपछि तपाईंले उनीहरूलाई ब्लक पनि गर्न सक्नुहुन्छ।